‘जनताको गीत गाउँदागाउँदै आफ्नो जीवनको लय कहाँनेर बिग्रियो, पत्तै भएन’

असार ३, २०७५ काठमाडौं : ‘सिमली छायामा बसी, भरियाले लामो सास फेरेको’, ‘बुढो किसान’, ‘झरनाको चिसो पानी’, ‘म त्यहीँ आउनेछु’लगायतका सयौँ गीतबाट सर्वहारा जनताको मुक्तिको गीतले जनतामा चेतनाको विगुल फुक्दै हिँडेका गायक आफैँ सर्वहारा बन्छन्, त्यो पनि गाउँका प्रधानपञ्चका छोरा। आश्चर्य त तब लाग्छ, जब तीन दशक बढी समय सर्वहारा जन र निरंकुशताविरुद्धका गीत गाएका गायक लोकतन्त्रदेखि गणतन्त्रसम्मका राजनीतिक परिवर्तन भइसक्दा पनि कसैको ‘चासो’भित्र पर्दैनन्। तत्कालीन सामन्ती परिवारमा जन्मिएर पनि तिनै सामन्त अर्थात् आफ्नै वर्गका विरुद्ध लाग्नु चानचुने कुरा थिएन। यद्यपि, उनले सादा जीवन बाँच्ने र जनमुक्तिका खातिर जीवन समर्पण गर्ने अठोट लिए। तीन दशकभन्दा लामो गायन यात्रामा हालसम्म रक्तिम परिवारको नेतृत्व गरिरहेका उनको संस्थाबाट झण्डै चार दर्जन गीति क्यासेट बजारमा आएका छन्। यस्तै, अहिलेसम्म ५०० को हाराहारीमा गीतहरू रेकर्ड भइसकेको छन्। ‘जनगायक’ जीवन शर्माको विगत र वर्तमानमा निकै फरक छ। भोगाइमा विविधता हुन नसके पनि अनुभव र अनुभूतिमा निकै भिन्नता छ। उनी भन्छन्, ‘जिन्दगीमा जनताको गीत गाउँदागाउँदै आफ्नो जीवनको लयचाहिँ कहाँनेर बिग्रियो, पत्तै भएन।’ तर आफ्नो जिन्दगीको लय बिग्रिएर उनलाई कुनै पश्चाताप भने छैन। भन्छन्, ‘म त सर्वहारा जनताको पक्षमा लागेर हिँडेको मान्छे, मैले अहिले भोगेका जुनसुकै कठिनाइहरू मेरा निजी सम्पति हुन्।’ बच्चैदेखि लहडी स्वभावका उनी बाँसुरी बजाउन थालेपछि दिनभर बाँसुरी बजाउँथे। भाउजुले ‘कति बजा’को बाँसुरी, झिँझो लाग्दैन?’ भनेपछि मात्र उनलाई थाहा हुन्थ्यो- म त दिनभर बाँसुरी बजाएर बसेको पो रहेछु भनेर। बेलुका आकाश हेर्दै बाँसुरी बजाउनु, जूनलाई हेरेको हेर्‍यै गर्नु। तारा हेरेको हेर्‍यै गर्नु उनको बानी थियो। तारा हेर्दाहेर्दै उनको ३ कक्षाको मार्कसिटमा तारा नै तारा आए। यसको मतलब उनी फेल भए। ३ कक्षा फेल भएपछि उनलाई लाग्यो- अब पढेर हुँदैन। फेल भएपछि सँगै फेल भएको साथी होमनाथले दिल्ली जाने, भाँडा माझेर धन कमाउने कुरा उनको कानमा फुकिदियो। भोलिपल्ट भाग्ने सल्लाह भयो उनको र साथीको। दिल्ली जाने सल्लाहअनुरूप बेलुका सुतेका उनी घाम डाँडामा आउने बेलासम्म निदाएछन्। बिहान  भाग्ने योजनाले हावा खाएपछि उनी स्कुल जान पनि छाडे। त्यसपछि चार वर्ष गाई, बाख्रा, भेडा चराउन वन जंगल डुल्दै हिँडे। चार वर्ष जिन्दगी हराभरा चल्दै थियो। न गुरुको कुटाइ, न गृहकार्य गर्ने टन्टो। तर बीचमा हराभरा जिन्दगीमा चर्को घाम बनेर आइपुगे उनका भिनाजु। भिनाजुले शर्माका बाबुलाई थर्काएछन्। गाउँको प्रधानपंच भइसकेको मान्छेको छोराले नपढ्दा लोक हाँस्ने काम हुन्छ। उसै पनि अहिलेको जमानामा पनि छोरालाई पढाउन छाड्ने भनेपछि बाले उनलाई स्कुल भर्ना गरिदिए- एकैचोटि ७ कक्षामा। त्यो पनि घरबाट दुई घण्टा टाढा जनता माविमा। उनी आफ्ना भिनाजुले भनेको सम्झन्छन्, ‘शिक्षाविहीन मान्छे पशु समान हुन्छ।’

कक्षा ७ मा त भर्ना भए उनी तर न उनलाई ए बी सी डी थाहा थियो, न त एकदेखि १०० सम्म भन्न सक्ने खुबी नै। विज्ञान त परको कुरा। उनलाई लागेछ, ‘खै पढेर पार लगाइएला जस्तो छैन।’ तर भइदियो के भने उनले एक दिन घरमा दुईवटा किताब भेट्टाए। एउटा अ‌ंकगणित र अर्को अंग्रेजी ग्रामर। लहडी स्वभाव उस्तै थियो। उनले ती दुवै किताब पढेको पढ्यै गरे। एक महिनासम्म पढ्दा उनलाई हरेक हिसाब र अंग्रेजीको हरेक लाइन याद आउन थाल्यो। हिसाब मिल्दै गयो। अंग्रेजीमा पनि वाक्य बनाउन जाने। जब जान्दै र बुझ्दै गइन्छ, तब थप कुरा जान्न सिक्न मन लाग्छ मान्छेलाई। त्यसपछि उनलाई आफ्ना पाठ्यपुस्तकहरू सजिला लाग्न थाले, रमाइला लाग्न थाले। फल स्वरूप उनले ७ कक्षाबाट ८ कक्षामा जाँदा प्रथम भएर गाउँलेलाई चकित बनाए। उनी ती दिन हाँस्दै सम्झिन्छन्, ‘मेरा बाबै! प्रथम हुँदा गाउँलेको अनुहारको कुरा छोडौँ, बाको अनुहार हेर्नलायक भएको थियो, नसोचेको घटना भएर।’  पढ्नेबाहेक अरू केही थिएन उनको काम। लगातार ८ र ९ कक्षा पनि प्रथम भएपछि उनी काठमाडौं आए- इन्जिनियर बन्ने सपना बोकेर। उनी भन्छन्, ‘मेरो रहर त खासै थिएन तर बाले इन्जिनियर भइस् भने गाउँमा स्कुल बनाउन सकिन्छ, धेरै पैसा कमाइन्छ भनेपछि इन्जिनियर भनेको ठूलो कुरा रै’छ भन्ने सोच्ने गर्थें।’ उनका आफ्नै माइला बाका छोरासमेत काठमाडौं बस्ने ठेगाना लिएर उनी इन्जिनियर बन्न पुलचोक आइपुगे। पुलचोकमा इन्जिनियर बन्न कम्मर कसेर उनले इलेक्ट्रिकल इन्जिनियरको छ सेमेस्टरसम्म पढे। त्यसपछि के भयो त? उनी ठट्यौली पारामा भन्छन्, ‘२०३६ सालमा पञ्चायतविरुद्धको आन्दोलनमा लागियो अनि छोरोको धनाढ्य हुने खतरा टर्‍यो।’ उनी लामो हाँसो हाँसे।  बच्चैदेखि जानेको भनेकै गीत गाउन थियो उनले। जनताको गीत गाउँदा जनताको प्रतिनिधित्व हुनुपर्ने थियो। हेपिएका दबिएका र सीमान्तकृतहरूको आवाज राज्यको कानसम्म पुग्न जरुरी ठाने उनले। सामन्ती परिपाटी भएको घरमा जन्मिएका उनी अनन्त सर्वहाराको गीत गाउने जनवादी गायक बने। उनी भन्छन्, ‘यो जनताले दिएको उपमा हो। खासमा जनताको हकहितका लागि न मलाई कसैले दबाब दिएको हो, न कसैले टेण्डर नै।’ सेताम्मे फुलेको कपाल, अग्लो कद र साधारण जिन्दगी उनको विशेषता हो। सादा जीवन र उच्च विचारलाई जीवनसूत्र बनाउँदै उनी जनताको गीत गाउँदै पञ्चायतविरुद्ध लागे। उनी देशका विभिन्न भूगोल पुगे। उनी भन्छन्, ‘हेर्ने र सुन्नेको ताँती देख्दा मन यसै प्रफुल्ल हुन्थ्यो।’ उनी नेपालका सुदूर गाउँसम्म मात्र चेतनाको विगुल फुक्दै हिँडेनन्, विभिन्न कालखण्डमा अन्तर्राष्ट्रिय मंचसम्म पुगे। जनवादी गीतसंगीत नै उनको जीवनको हिस्सा हो।

उनको रगतको कणकणमा जनताको असीम प्यार भरिएको छ। शर्माले आफ्नो जिवनकालमा सिमली छायामा बसी, म त्यही आउनेछु, यसपाली त यस्तै भो आमा, झरनाको मीठो पानी लगायतका हालसम्म  ५०० को हाराहारीमा गीतहरू रेकर्ड गरिसकेका छन् भने कयौँ रेकर्डिङको पर्खाइमा छन्। विस्तारै पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन सकियो। आन्दोलनताका गाउँदै हिँड्नुको मजा बेग्लै थियो। अब आन्दोलन सेलाउँदै जाँदा उनको गायन पनि सेलाउँदै गयो। पढ्न छाडेपछि घरबाट आउने पैसा कटौती भयो। एक किसिमले आर्थिक नाकाबन्दी भन्दा गलत हुँदैन भन्छन् उनी। पैसा कटौतीसँगै उनी आम्दानीको स्रोत खोज्दै मुस्ताङ पुगे- टुकुचे माविमा पढाउनका निम्ति २०३९ सालमा। डेढ वर्षपछि त्यहाँ उनलाई काम गरिरहन मनलागेन। उनी भन्छन्, ‘दुई वर्षमा बकाइदाले सरकारी जागिरे बनिन्थ्यो होला तर मन नबसेपछि छोडेर घर फर्किएँ।’  घर फर्किएलगत्तै आफैँले पढेको स्कुलमा पढाए उनले, दुई वर्ष। गाउने प्रक्रिया सुरु भयो।

संगठन विस्तार पनि गर्थे। पञ्चायतविरुद्ध गाउँका मान्छेलाई एकीकृत गर्ने काम गर्थे। स्कुलमा राज्यविरुद्ध धावा बोलेको भन्दै पत्र टाँसियो। उनलाई सेना र अञ्चलाधीश मिलेर राज्यविरुद्ध गीत गाउन बन्द गर्नु भनेर दुई दिन जेलमा हाले।तारिख धान्न गइरहने झन्झटभन्दा बरु भूमिगत हुनु राम्रो भन्ने अठोट लिएर जनताको घरघर पुगे उनी जनवादी गीत लिएर। यसै क्रममा उनी सोलुखुम्बु हानिए- पढाउनका निम्ति। सोलुखुम्बुको खुमुङ माध्यमिक विद्यालयमा दुई वर्ष पढाए उनले। आम्दानी प्रशस्त भए पनि त्यहाँ उनको मन अडिएन। उनी पुन: काठमाडौं आए। एक दिन कुनै साथीले उनलाई ‘एसएलसी मात्र पास गरेर के गर्ने हो?’ भनेर प्रश्न तेर्स्याइदिए। यो कुराले उनलाई मनसम्मै छोयो। त्यसपछि उनी त्रिचन्द्र कलेजमा दर्शनशास्त्र र राजनीतिशास्त्र विषयमा भर्ना भए- २०४२ सालमा। त्यहीँ पढ्दा रक्तिम सांस्कृतिक अभियान सुरु गरे उनले। देशमा पुन: आन्दोलन सुरु भयो। विभिन्न कलेजमा गीत गाउँदै हिँड्नु, प्रहरीले उनीहरूलाई पिछा गर्नु अनि लुक्नु, यस्तै थियो जीवनहरूको अवस्था त्यसबेला। त्यसबेला लुकामारी राम्रै चलेको बताउँछन् उनी। उनी थप्छन्, ‘न पैसा हुन्थ्यो, न बस्ने ठेगान।

कहिले कसकोमा गएर बस्यो, कहिले कसकोमा गएर बस्यो। बस्, प्रहरीको आँखा छल्ने काम हुन्थ्यो।’ २०४६ सालपछि बल्ल उनी बाहिर निस्किए। ‘लुकीलुकी गीत गाउँदै हिँड्ने मैले त्यसपछि ठूलो जनलहरमा गीत गाएर आन्दोलन सफल भएको उपलक्ष्यमा उत्सव  गरियो’, उनले भने। २०५२ सालमा जनयुद्ध सुरु भएसँगै पुन: उनी भूमिगत भए। तथापि, उनका केही गीतहरू बजारमा पुगिसकेका थिए। सरकारले उनका गीतमाथि प्रतिबन्ध लगायो तर उनले जनतालाई जागरुक बनाउँदै गाउँगाउँ डुल्दै हिँडे। अनन्त: देशमा राजतन्त्रको अन्त्य भयो।  उनका गीत मन नपराउने विरलै होलान्। उनी कम्युनिस्ट भए पनि उनका गीत सबै वर्गका मान्छेलाई उति नै लोकप्रिय छन्। उति नै कर्णप्रिय लाग्छन्। राजतन्त्रको अन्त्य भए पनि जनताका दु:खहरू अन्त्य नभइसकेकाले गर्दा उनी खबरदारीको आवाज उठाइरहन्छन्। लोभ, लालच, धन, सम्पति उनका लागि गौण हुन्। ‘मैले के गरेँ, कति कमाएँ, ठूलो कुरा भएन तर जनताको स्थिति कस्तो छ? कस्तो हुनुपर्छ भन्ने कुरामा म स्पष्ट छु’, उनी भन्छन्।  घट्टेकुलोमा बसेर उनी कहिलेकाहीँ गम्छन्, हतियार बोक्दैमा कम्युनिस्ट हुन सकिँदैन, अझै पनि देशलाई कम्युनिस्टको नकाव लगाएर हिँड्नेहरूबाट जोखिम रहेको छ। विचार कम्युनिस्ट हुन जरुरी त छँदै छ, त्योभन्दा बढी जनताको हरेक पीडा र दु:ख महसुस गरेर उनको स्तरोन्नति गर्न प्रयास गरे मात्र असली कम्युनिस्ट बन्न सकिन्छ। तीन दशक बढी सर्वहारा जनताको पक्षमा गीत गाएर हिँड्नु चानेचुने कुरा होइन।

उनी भन्छन्, ‘यो मेरा लागि अवसर हो। शोषित पीडितका हकहितको लागि लड्न पाउनु र अधिकार सुनिश्चितताका लागि केही हदसम्म सफल हुनु जिन्दगीमा सन्तुष्टिको एक आधार हो।’ तर लडाइँ अझै सकिइ नसकेको हुनाले अबको बाँकी जीवन जनताको पक्षमा लाग्नुको विकल्प नरहेको उनको ठम्याइ छ।
source:thahakhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.